‘सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो’

फिल्म । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ आउँदो वैशाख २६ मा प्रदर्शन हुँदैछ । फिल्म अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गिताञ्जली थापा केन्द्रीत छ । अभिनेता मल्लले फिल्म आफ्नो लागि विशेष रहेको र आफैँले ठूलो पर्दामा हेर्न प्रतीक्षा गरिरहेको बताएका छन् ।

यस्तै, उनले फिल्ममा अर्का अभिनेता शाहीले निकै मेहनत गरेको बताएका छन् । उनले भने,‘छायांकनको समयमा हाम्रो बसाइ वल्लोपल्लो रुम थियो । त्यहि भएर पनि मैले अनुपले गरेको मेहनत सुन्न पाएँ । उनले रातभर आफ्नो डायलगसँगै पात्रलाई जीवन्त बनाउन अभ्यास गर्थे । यसकारण यो हामी सबैका लागि खास फिल्म बनो छ ।’

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म ‘जार’ मा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता शाहीले बताए । उनले भने,‘मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु ।’

अभिनेता अनुपविक्रम शाहीले ‘जार’ को हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् । ‘यो फिल्म मेरो लागि थप विशेष छ, मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु’, उनले भने, ‘जारको हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’

निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार फिल्म तयार भएको जानकारी दिए । उक्त फिल्मलाई निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले बताए ।

उनले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकोले हेरेर साथ दिन आग्रह गरे । ‘यो फिल्म हामीले गोर्खालीकै लागि तयार गरेका हौँ, आइबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोशिश गरेका छौँ’, उनले भने । कार्यकारी निर्माता ज्योति क्षेत्रीले एउटा उत्कृष्ट फिल्म तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् ।

कमेन्ट गर्नुहोस्