स्काईवाकमा गुञ्जिदै कर्ण

सङ्गीत । पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्‍याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी । सङ्गीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी शोले पहिचान दिलाएको छ । टप टेनसम्म यात्रा तय गरेका कर्णले आफूले प्रस्तुत गरेको गीतहरूमार्फत दर्शकको मन जित्न सफल भएका छन । सङ्गीतमा अब्बल रहेता पनि उचित प्लेटफर्मको खोजीमा रहेका कर्णको प्रतिभालाई चिनाउने अवसर रियालिटी शोले दियो ।

आफुमा भएको प्रतिभालाई दर्शकसम्म पुर्याउन पाएपछि कर्ण दंग छन् । प्रतियोगिता नाजितेता पनि दर्शकको मन उनले जितेका छन् । त्यसैले पछिल्लो समय भईरहेको स्टेज कार्यक्रमहरूमा उनको उपस्थिति बाक्लिन थालेको छ । ‘दर्शकको माया पाएको छु । यसमा निकै खुशी छु । त्यो माया नघटाइ बढाउने प्रयाशमा छु’, कर्णले भने ।

‘सङ्गीतमै मैले आफ्नो भविष्य देखेको छु । त्यहिँ अनुरुप म अगाडी बढिरहेको छ । सफलता र असफलता त जिन्दगिमा छदैछ’, उनले भने । स्कुले जीवन देखि नै सङ्गीतमा आफ्नो भविष्य खोजिरहेका कर्णलाई पछिल्लो समय उर्जा मिलेको छ । गीतसङ्गीतले नै आफुलाई पहिचान दिएको बताउने कर्ण स्टेज कार्यक्रम र महोत्सवले श्रोताको टेस्ट बुझ्न मदत गर्ने बताउछन् ।

यिनै कर्ण डिसेम्बर ३१ तारिखमा वन्डर्स नेपाल प्रालिले संचालनमा ल्याएको काठमाडौँको कमलादीमा रहेको स्काईवाकमा गुञ्जिने भएका छन् । आउँदो नयाँ वर्ष सन् २०२४ लाई स्वागत तथा सन् २०२३ लाई विदाई गर्न डिसेम्बर ३१ तारिखमा स्काईवाकमा विशेष कार्यक्रममा उनको एकल प्रस्तुती रहनेछ । उक्त दिन स्काईवाक विहान ८ बजेदेखि बेलुकी १२ बजेसम्म खुल्नेछ ।

पछिल्लो समय मेला, महोत्सवमा व्यस्त रहेका गायक गिरीले पहिलोपटक स्काईवाकमा प्रस्तुती दिन लागेका हुन् । उनले माहोल अनुसार आफ्नो प्रस्तुती दिने बताए । ‘मैले केही तयारी गरेको छु । साथै नयाँ वर्षको अवसरमा त्यहाँ आउनु हुनेको मनस्थिति बुझेर आफ्ना प्रस्तुतीहरू प्रस्तुत गर्नेछु’, गायक गिरीले भने ।

कमेन्ट गर्नुहोस्