‘सारथी’ को ट्रेलर युट्युब ट्रेन्डिङ ९ मा

फिल्म । मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकको ध्यान आकर्षित गर्दै ट्रेलर युट्युबको ‘मुभिज चार्ट’तर्फ ९औँ स्थानमा उक्लिएको हो।

समाचार तयार पार्दासम्म ट्रेलरले डेढ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। भावनात्मक तथा मर्मस्पर्शी कथासँगै सामाजिक परिवेशमा आधारित ट्रेलरमा आमाछोराबीचको माया, त्याग, सामाजिक विभेद र पहिचानको खोजीलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

आमाको भूमिकामा रहेकी अभिनेत्री निरुता सिंहको पीडादायी मातृत्वको अभिनय र उनले वाचन गरेको भावनात्मक कविताले दर्शकको मन छोएको छ। लामो समयपछि निरुता सिंहसँगै अभिनेता उत्तम प्रधान पनि यसै फिल्ममार्फत पर्दामा फर्किएका छन्।

करिब दुई दशकपछि यो जोडीलाई एकसाथ पर्दामा देख्न पाउँदा दर्शकमाझ विशेष उत्साह र नोस्टाल्जिया देखिएको छ। निरुताका फिल्म हेरेर हुर्किएको पुस्ताका लागि उनीहरूको पुनरागमन पुराना सुनौला दिनको सम्झनासमेत बनेको छ। सामाजिक सञ्जालमा दर्शकले ‘वेलकम ब्याक द क्वीन’ भन्दै निरुता र उत्तमको जोडीलाई स्वागत गरिरहेका छन्।

ट्रेलरमा समेटिएको म्याग्दीको दुर्गम गुर्जा गाउँको वास्तविक जनजीवन, प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिको दृश्यले फिल्मलाई जीवन्त बनाएको छ। उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई भने ट्रेलरमा रहस्यमय रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथाप्रति दर्शकमा थप कौतूहल जगाएको छ।

फिल्ममा छोराको भूमिकामा नवकलाकार गिरि विश्वकर्मा छन्। अनुभवी अभिनेत्री निरुता सिंहसँग पर्दा साझा गरेका गिरिको स्वाभाविक तथा जीवन्त अभिनयलाई पनि दर्शकले रुचाएका छन्।

कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरि विश्वकर्मा मुख्य भूमिकामा छन्। सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ। किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायाङ्कन संकल्प भुजेलले गरेका हुन्।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता हुन् भने अमिर केसी लाइन प्रोड्युसर रहेका छन्।

फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठको सहायक निर्देशन रहेको छ। फिल्म वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

कमेन्ट गर्नुहोस्