सङ्गीत । सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको डान्सिङ गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ । विवाहको मौसमलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको गीतको भिडियोमा सलोन बस्नेत र विमला खत्रीको अभिनय रहेको छ। भिडियोमा सलोन र विमलाको जोडीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
सान्भि इन्टरटेन्मेन्टको पहिलो म्युजिक भिडियो भएकाले यसबाट मायाको अपेक्षा रहेको करिश्मा केसीले बताइन्। शोभित बस्नेतले फिल्म तथा म्युजिक भिडियोसँगै सिरिज र पोडकास्टसमेत ल्याउने योजना रहेको सुनाए। उनले आफूहरू पर्दापछाडि रहेर ससुरा–बुहारीले काम गर्दै छोरा सलोन बस्नेतलाई अगाडि बढाउने बताए।
मोडल विमला खत्रीले गीत सार्वजनिक गर्नकै लागि अस्ट्रेलिया फर्किने आफ्नो समय लम्ब्याएको बताइन्। उनी गीत सार्वजनिक भएपछि भोलिपल्ट अस्ट्रेलिया फर्किँदै छिन्। गीतमा सिडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर रहेको छ। अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रहेको गीत डिभाइन स्टुडियोमा रेकर्ड गरिएको हो।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो सौरभ लामाले छायाङ्कन गरेका हुन्। ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन्।









