फिल्म । तिहारको अवसर पारेर गत कात्तिक २० गते प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा असफल भएको छ । प्रदर्शनको १७ दिनमा फिल्मले ५० लाख रुपैयाँसमेत कमाउन नसकेको फिल्म अधिकाँस हलबाट उत्रीसकेको छ ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ‘सिनेपाः बक्सअफिस’ विवरणअनुसार ६ मंसिरसम्म फिल्मले ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मले प्रदर्शनको पहिलो १० दिनमा ४३ लाख ५० हजार ४९३ रुपैयाँ कमाएको थियो । यसअनुसार पछिल्लो सात दिनमा फिल्मले जम्मा १ लाख ७१ हजार ८९५ रुपैयाँ मात्रै जोडेको छ । आइतबारसम्म फिल्म हेर्ने दर्शकको संख्या १२ हजार ८९० पुगेको छ । पछिल्लो सातामा भने ५९६ जना दर्शकले मात्रै फिल्म हेरेका छन् ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, जीतु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, महेश त्रिपाठी, इभा गिरी, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ । शुशील पौडेलको लेखन रहेको फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् ।









