फिल्म । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को निर्माण टिम कास्टिङ लाइनअपलाई मजबुद बनाउँदै अघि बढेको छ । छिटै फ्लोरमा जान लागेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त र माग्ने बुढोको उपनामले चर्चित कलाकार केदार घिमिरे जोडिएका छन् । निर्माण कम्पनि अनन्या फिल्मस् र कलाकार बीच सम्झौता भएको हो ।
निर्माता सरोज न्यौपानेले फिल्ममा दुवै कलाकारको भूमिका अब्बल रहेको जानकारी दिएका छन् । उनले भने,‘उहाँ दुबैको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’
यो फिल्मको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन् । कास्टिङ लाइनअपले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको छनक दिन्छ । वर्षमा एक दुई फिल्म मात्र गर्दै आएका अभिनेता अनमोलले यो फिल्मको स्कृप्टलाई यसअघि नै उत्कृष्ट बोल्दै आएका छन् । ‘फर्की फर्की’पछि पर्दामा आउन लागेका अनमोल यतिबेला यो फिल्मको लागि पात्र सुहाउँदो अभिनयको लागि मेहनतमा व्यस्त छन् ।
निर्माता न्यौपानेले दर्शकको रोजाई र चाख अनुसार ‘जेरी अन टप’ बनाउने बताए । यसको निर्माणमा अनन्या फिल्मस्’सँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् ।
‘जेरी अन टप’को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । यो फिल्मलाई काठमाडौँ,लुक्ला र वलिउडको ब्लकवस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्दाख लगायतका स्थानमा खिचिँदैछ ।











