निफको सातौँ संस्करणमा ४० देशका ८८ फिल्म

फिल्म । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण आगामी चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक संस्थाले आज काठमाडौंस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका अध्यक्ष प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकमर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराए ।

अध्यक्ष पाठकले यो संस्करणमा ६० देशका पाँचसय बढी प्राप्त भएकोमा छनौट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए । ‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ’,उनले भने । उनका अनुसार निफमा यो पटक छनौटमा परेका थुप्रै फिल्महरू कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको जानकारी गराइएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पूँजी र बजार एवं पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए । उनले राष्ट्रिय फिल्म उद्योग पूँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष यही अवस्थामा रहिरहने र निफ जस्ता कार्यक्रमले यस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए । यसैगरी उनले पश्चिमा फिल्मकर्मी कथाको खोजीमा रहेका पूर्वीय दर्शन र ज्ञान बाँड्नमा पनि महोत्सव सक्रिय हुन सुझाव दिएका थिए ।

अभिनेता प्रदीप खड्काले आफू फिल्मको सिकारु भए पनि यसलाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो लागि जिज्ञासाको विषय रहेको धारणा राखेका थिए । ‘म आकस्मिक कलाकार हुँ । जीवनमा धेरै कुरा कोशिस गर्ने क्रममा कलाकार बनेको हुँ । फिल्म क्षेत्रलाई सञ्चारमन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामथ्र्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसैलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पथ्र्यो कि’, प्रदीपको भनाइ थियो ।

यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका थिए । ‘पञ्चायतकालीन कानुनको भरमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । अहिले हामी कानुन निर्माणका लागि लागि परेका छौँ । योपछि विश्व बजारमा जाने फिल्मको निर्माणमा बल्ल सघाउन सक्छौँ’, उनको भनाइ थियो ।

निफको यो संस्करण पनि अघिल्लो संस्करणझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु फिल्म र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।

मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका अन्य फिल्म प्रदर्शन गरिनेछन् । आयोजकले महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिने जनाएको थियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यो सालबाट दर्शक रुचिका चलचित्रलाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको जानकारी गराउन चाहान्छौँ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको मतका आधारमा चयन गरिनेछ ।

कमेन्ट गर्नुहोस्