फिल्म । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘२६ करोड’ को छायांकन पोल्याण्डका अनुभवी छायाँकार आर्टुर जुराव्स्कीले गर्ने भएका छन् । एसियाली तथा युरोपेली फिल्म उद्योगमा काम गरिसकेका जुराव्स्की फिल्मको छायांकनका लागि नेपाल आइपुगेका छन् ।
शनिबार नेपाल आइपुगेका जुराव्स्कीले आइतबारदेखि फिल्मको कार्यशालामा समेत सहभागिता जनाएका छन् । विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्मको अहिले कार्यशाला भइरहेको छ । मंसिर १५ गतेदेखि छायांकन सुरु हुने निर्माता सुभाष भुसालले जानकारी दिए ।
पोल्याण्डका छायाँकार जुराव्स्कीले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाका फिल्म उद्योगमा काम गरिसकेका छन् । यसअघि उनले विकास सुवेदी निर्देशित नेपाली फिल्म ‘सिरजरा’मा पनि छायांकन गरेका थिए । ‘२६ करोड’ उनीहरूको दोस्रो सहकार्य हो ।
जुराव्स्कीले बलिउडमा सलमान खान अभिनीत ‘सुल्तान’, रानी मुखर्जी अभिनीत ‘मर्दानी’ र सञ्जय दत्त अभिनीत ‘भूमि’ जस्ता फिल्मको छायांकन गरेका छन् । यी फिल्मले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएका थिए ।
पोलिस नेसनल फिल्म स्कुलबाट सिनेमाटोग्राफीमा स्नातक गरेका जुराव्स्कीले छायांकन गरेका फिल्मले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनी बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा समेत आबद्ध भइसकेका छन् ।
भारतीय फिल्मबाहेक उनले अन्तर्राष्ट्रिय स्तरमा चर्चित ‘हेड टु लभ’ (अमेरिका), ‘व्हेयर वुड यू लाइक टु गो ?’ (दक्षिण कोरिया-पोल्याण्ड), ‘लोकाटोर्का’ र ‘इज् पोद प्रोंद’ लगायत फिल्मको पनि छायांकन गरेका छन्।
आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको ‘२६ करोड’मा प्रदीप खड्का र सारा अरएल शाह मुख्य भूमिकामा रहनेछन् । सारा बलिउड अभिनेता विवेक ओबेरोयकी धर्म छोरी हुन् ।
किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको लेखन निर्देशक सुवेदीकै रहेको छ । फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन, निर्माता भुसालको संगीत, हर्क साउदको शब्द तथा मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ ।








