कमेन्ट गर्नुहोस्
‘सिन्दुरे जात्रा’ महिला चरित्रप्रधान कथा हो : अञ्जना

फिल्म । अभिनेत्री अञ्जना बराइलीले फिल्म ‘सिन्दुरे जात्रा’ महिला चरित्रप्रधान कथा भएको बताएकी छन् । उनले फिल्ममार्फत महिलाप्रति नेपाली समाजको दृष्टिकोणमाथि प्रश्न उठाइएको र आफूले मौन विद्रोह गरेको बताएकी छन् ।
अञ्जनाका अनुसार फिल्मको नामले नै आफूलाई आकर्षित गरेको थियो । कथा पढेपछि समय मिलेको खण्डमा यसमा जोडिने सोच बनाएको र पछि अनुबन्ध भएको उनले बताइन् । उनले ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले बलियो फिल्म रहेको दाबी गरेकी छन् ।
फिल्ममा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गरेका केही कलाकार, निर्देशक र प्राविधिक जोडिए पनि अन्य कलाकार, निर्माता तथा प्राविधिक फरक रहेको उनले स्पष्ट पारेकी छन् । साथै, ‘सिन्दुरे जात्रा’को कथा ‘पूर्ण बहादुरको सारङ्गी’सँग नमिल्ने र यो त्यसको सिक्वेलसमेत नरहेको उनको भनाइ छ ।
अञ्जनाका अनुसार ‘सिन्दुरे जात्रा’मा आजको नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूको अवस्थालाई कथाको केन्द्रमा राखिएको छ। यद्यपि, निर्देशक सरोज पौडेलले फिल्ममार्फत कुनै पक्षको वकालत गर्ने वा न्यायाधीश बन्ने प्रयास नगरेको उनले बताइन्।
‘हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ। महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ’, अञ्जनाले भनिन् । उनले फिल्ममा आफूले मौन विद्रोह गरेको पनि बताएकी छन्। यद्यपि, त्यो विद्रोहको स्वरूपबारे भने उनले खुलाएकी छैनन्।
फिल्ममा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेलले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ। मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ।






