कस्तो छ ‘बलिदान’ को टिजर ?

फिल्म । नेपाली फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको उक्त फिल्मको टिजरले दर्शकको मनमा देशभक्ति, क्रोध र न्यायको भावना जागृत गर्ने विश्वास निर्माण टिमको छ । आगामी बडादसैँको फूलपातीमा प्रदर्शन हुने यो फिल्मको टिजरले देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र तिनलाई रोक्न असम्भव भएको उद्घोषबाट सुरु हुन्छ । पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढतापूर्वक उभिएको दृश्य देखिन्छ ।

अभिनेता हेमन्त बुढाथोकीको आवाजमा कालीमाताको चरणमा रगत चढाएको र बलिदानको भाव व्यक्त गरिएको छ । उनी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा शक्तिशाली राजनेताको भूमिकामा छन् । अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्रबिन्दु बनेको छ ।

अभिनेता समीर भट्टको प्रवेशले टिजरलाई थप रोमाञ्चक बनाएको छ । ‘एक्सन किङ’ को परिचय पाएका भट्टले शक्तिशाली एक्सन दृश्यहरू प्रस्तुत गरेका छन् । टिजरको अन्त्यमा अन्य कलाकारहरूको झलक र समीरको ठूलो भालासहितको एक्सन दृश्यसहित शीर्षक देखाइएको छ । निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई हरेक नेपालीको मनमा रहेको विद्रोहको प्रतीक भएको बताए ।

यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि-टिजरले देशभक्तिपूर्ण संवाद र दमदार एक्सनका कारण नेपालसहित दर्जनौँ देशमा युट्युब ट्रेन्डिङमा स्थान बनाएको थियो । प्रचार अभियानलाई थप उचाइमा पुर्‍याउन निर्माताले ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत देशभर विशाल ब्यानरहरू टाँगिएका छन् । ‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा निर्मित यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

कमेन्ट गर्नुहोस्