‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

फिल्म । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ। गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

यस अघि चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक भएका थिए भने यो गीतले दुःखका भावना व्यक्त गरेको छ। यस गीतमा बि. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ। सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ। ‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछन्।

अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ । यसमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

कमेन्ट गर्नुहोस्