फिल्म । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपाली चलचित्र आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले स्थापना गर्नुभएको ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’को आयोजनामा ‘पुरस्कार अर्पण’ समारोह सम्पन्न भएको छ । विसं २०७८ र ७९ को पुरस्कार एकसाथ वितरण गरिएको समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँगै चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
समारोहमा समारोहमा विसं २०७८ सालको ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’ चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’ सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–बसन्धरा भुसाल पुरस्कार २०७८’ अभिनेत्री मिथिला शर्मालाई प्रदान गरियो । यस्तै, विसं २०७९ तर्फ ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण–बसन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मिला मल्ललाई पुरस्कृत गरिएको थियो । पुरस्कारमा जनही नगद राशी एकाउन्न हजार रुपैयाँ समेत राखिएको छ ।
आफू भन्दा अग्रज कलाकर्मीलाई सम्मान गर्न पाउँदा खुसी लागेको मन्त्री शर्माले बताइन । उनले भनिन्,’मेरो एकोहोरो चिनजान तपाइँ सम्पूर्णसँग छ । तपाइँको कलाकारितालाई मैले टिभी र चलचित्रमा हेरेकी छु । तपाइँहरूको योग्दानलाई राज्यले अवश्य सम्मान गर्नेछ ।’ उहाँले लामोसमय चलचित्र क्षेत्रलाई दिनुभएकी तीन अभिनेत्रीको प्रसंशा गरिन् ।
फाउन्डेसनकी अध्यक्ष भुवनले कला क्षेत्रमा जीवन समर्पण गर्नुभएकालाई हौसला प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्ने गरिएको जानकारी दिईन् । पुरस्कृत मध्येबाट चलचित्रकर्मी खरेलले धन्यवाद दिए । वि.सं २०७५ सालमा स्थापना भएको फाउन्डेसनले हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ ।












