‘अभिनेत्री द्वन्द्वका दृश्य दिन सक्षम छन्’ : अभिनेत्री शर्मा

फिल्म । फ्राइडे फिल्म अन्तर्गत प्रदर्शन भएको फिल्म ‘दान्भी’ अभिनेत्री पूजा शर्माले नेपाली फिल्ममा द्वन्द्वका दृश्य दिन अभिनेत्रीहरू सक्षम रहेको बताएकी छिन् । फिल्म रिलिजको सङ्घारमा उनले अभिनेत्री र द्वन्द्वका विषयमा कुराकानी गर्दै द्वन्द्वको दृश्यका लागि मेहनत गरेता पनि आफु अभिनेत्री भएका कारण त्यसको मजाक (ट्रोल) बनाईएको गुनासो समेत गरिन् ।

उनले भनिन्,‘नेपालमा हिरोले फाइट गर्छन् । त्यहि भएर पनि मेरो मेहनतलाई देखावटी भनिएको हुन् सक्छ । मैले गरेको मेहनतलाई फिल्ममा हेरेपछि स्यावासी दिनुहुन्छ भन्नेमा विश्वस्त छु । सायद यस्तो द्वन्द्व कुनै अभिनेताले गर्नुभएको भए तारिफ नै हुन्थ्यो । तर, मैले हामी अभिनेत्री पनि द्वन्द्वका दृश्यमा सक्षम छौँ भन्ने प्रमाणित गर्ने गरी काम गरेकी छु’, अभिनेत्री शर्माले भनिन् ।

उनले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना प्रशिक्षण लिएर दुई साता भन्दा बढी समय द्वन्द्वका दृश्यको छायाङ्कन गरिएको जानकारी गराइन । त्यसकारण आफ्नो ध्यान आलोचकको तर्फ नजाने उनको भनाइ छ ।

‘अब मेरो कामले नै आलोचकलाई जवाफ दिनेछ । यसले अन्य निर्मातालाई अभिनेत्रीलाई मुख्य भूमिका दिन र द्वन्द्व गराउन हिम्मत पुग्ने छ । किनकि नेपालमा अभिनेत्रीलाई मुख्य भूमिकामा लिनु र द्वन्द्वका दृश्यमा प्रस्तुत गरिनु जोखिम मानिन्छ’, उनले भनिन् । अभिनेत्री शर्मासँगै फिल्ममा कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

रुपेश तामाङ निर्देशित फिल्म नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ । यसमा श्री श्रेष्ठले द्वन्द्व निर्देशन, सञ्जोग कुँवर रानाले पटकथा तथा संवाद लेखन, रविना थापा मगरले कथा लेखन, हरिप्रसाद घलेले छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्