फिल्म । पछिल्लो फिल्म ‘तान्हाजी’ मार्फत दर्शकको माया पाएका अजय देवगनले त्यसपछि ‘आरआरआर’ मा काम गरिसकेका छन् । ‘बाहुबली’को सफलतापछि एसएस राजामौली नेक्स्ट प्रोजेक्टमा बलिउडबाट अजयसंगै आलिया भट्ट पनि छिन् । सुरुवाती दिनमा अजयको फिल्ममा केमियो रहने बताइएको थियो । यद्दपी अब उनको रोल खास रहने खबर बाहिर आएको छ ।
‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक राजमौलीको फिल्म आरआरआरमा अजयको रोल महत्वपूर्ण हुनेछ । ‘फिल्ममा अजयको रोलको बारेमा भन्नु पर्दा नयाँ कट्टप्पा भने बुझ्नुस’ फिल्मका एक सदस्यलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । फिल्मलाई बलिउडमा पनि उत्तिकै खास बनाउन अजयको रोल लम्ब्याउनुका साथै दमदार बनाइएको छ । आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरण मुख्य भूमिकामा छन् ।
पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यस फिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । (एजेन्सी)












