फिल्म । नेपाली फिल्म क्षेत्रका उदाउँदा अभिनेता गौरव बिष्टले आफ्नो नयाँ फिल्म ‘एक मुठी बादल’का लागि ९ केजी तौल घटाएर आफ्नो पात्र तयार गरेका हुन् । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका बिष्टले फिल्म क्षेत्रमा पनि उल्लेखनीय फड्को मारिरहेका छन् ।
दुई वर्षअघि फिल्म ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका गौरवको नयाँ प्रस्तुति ‘एक मुठी बादल’ प्रदर्शनको तयारीमा छ । यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिनेछन् । हालै सार्वजनिक गरिएको फिल्मको क्यारेक्टर पोस्टरमा गौरवको फरक अवतार देख्न सकिन्छ । सार्वजनिक तस्बिरहरूमा उनको वास्तविक जीवनको लुक र फिल्ममा प्रस्तुत गरिएको चरित्रबीच स्पष्ट भिन्नता देखिन्छ ।
यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका हुन् । पात्रमा पूर्ण रूपमा ढल्न उनले निकै मिहिनेत गरेको देखिन्छ । आफ्नो शारीरिक रूपान्तरणमार्फत उनले पात्रलाई जीवन्त बनाउन प्रयास गरेका छन्, जुन दर्शकले फिल्ममा अनुभव गर्न सक्नेछन् । अब उनको यो मेहनत कत्तिको प्रशंसनीय ठहरिन्छ भन्ने कुरा फिल्म जेठ १ गतेबाट प्रदर्शनमा आएपछि स्पष्ट हुनेछ ।
फिल्म ‘एक मुठ्ठी बादल’ मा निशा शर्मा, शेखर चापागाईं, सहयोग अधिकारी, अस्मिता गौतम, भीमा मैनेली, उषा रजक, मनिष निरौला, अविरल प्रताप अधिकारी लगायतको अभिनय रहेको छ । सहारा शर्माद्वारा लिखित तथा निर्देशित फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् । सह निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।
फिल्मको छायांकन लिन्ह डान गुयेन फानले गरेका छन् । प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक तथा सम्पादन सल्लाहकार दीपा भाटियाले सम्हालेका छन् । भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट-प्रोडक्सन सुपरभिजन आश्मा गौतमले गरेका छन् ।











