फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २४ करोड रुपैयाँको व्यापार गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ २ गतेसम्म २३ करोड ९३ लाख ९२ हजार ८ सय ५२ रुपैयाँ ग्रस कमाएको छ। आज फिल्मले २४ करोड क्लब ज्वाइन गर्ने निश्चित छ ।
उक्त अवधिसम्म फिल्मका ८ लाख ७१ हजार ४७ वटा टिकट बिक्री भएका छन् । ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।












