सिड्नीमा आज गुञ्जिँदै रामकृष्ण

सङ्गीत । नेपाली गीतसङ्गीतमा प्रसिद्ध नाम बनिसकेका गायक रामकृष्ण ढकालको अष्ट्रेलियामा हुने सांगीतिक टूरको लागि सिड्नी आइपुगेका छन् । शुक्रबार राती सिड्नी आइपुगेका गायक ढकालले आफूले पाँच वर्षपछि यहाँ सांगीतिक प्रस्तुती दिन लागेको बताए । उनले भने,‘यो दसैँ अष्ट्रेलिया बासिसँग मनाउने तयारी गरेको छु । शनिवार सिड्नीमा कार्यक्रम गरेपछि अन्य सहरमा पनि पुग्ने छु । पुनः यहाँ आफ्नो प्रस्तुती दिन पाउँदा म निकै उत्साहित छु ।’

आयोजक संस्था पाल्पा सर्भिसेसका प्रमुख दिनेश श्रेष्ठले गायक ढकालले सिड्नीमा बाद्यबाधकसँग प्रस्तुती दिने जनाएको छ । ‘उहाँलाई सुन्न सिड्नीका नेपाली अधैर्य छन्, हामीले तयारी पुरा गरिसकेका छौँ । गायक ढकालले स्थानीय बाद्यबाधकको लाइभ म्युजिकमा गीत गाउनु हुनेछ’, आयोजक श्रेष्ठले भने ।

एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका गायक ढकाल सिड्नीसँगै क्यानबेरा, न्युक्यासल, मेलबर्न लगायतका सहरमा गुञ्जिँने छन् । ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफूले नेपालमा र सिड्नीमा समेत बाद्यबाधकसँग तयारी गरेको बताए ।

‘यसपटक मेरा नयाँ र पुराना गीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ’, उनले भने । सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनको सुमधुर प्रस्तुती हेर्न सकिने छ । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको छ । गायक ढकालको प्रस्तुती हेर्न ९९ अष्ट्रेलियन डलर तोकिएको छ । उक्त रकममा रात्रीकालिन खानासमेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्