फिल्म । सोमबार फिल्म ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । करिब चार बर्ष पहिले नै हलमा लागिसकेको फिल्मको विशेष शो भने एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि गरिएको थियो । ‘लाइन्स क्लब अफ काठमाण्डौ’ले मुस्कानलाई सहयोग गर्ने उद्देश्यले उक्त शोको आयोजना गरेको थियो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइएको छ । विशेष शोबाट उठेको रकमसंगै केही रकम थपेर जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ ।
शोमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल उपस्थित थिए । ‘जसले जहाँबाट सक्छ सोही स्थानबाट सहयोग गर्ने हो । यो उदारणिय काम हो ।’ मुस्कानको पढाईको लागि सरकार समक्ष सहयोगको कुरा गर्ने पनि उनले विश्वास दिलाए । नायक तथा निर्माता रमित ढुंगानाले आफूले मुस्कानको सहयोगका लागि फिल्म उपलब्ध गराएको बताए । मुस्कान पनि हलमा पुगेकी थिइन् । उनले आफुलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिईन् । साथै उनले यसकिसिमको अपराध गर्नेलाई कडा कारवाही हुनु पर्ने मांग समेत गरिन् ।












