फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनको धन’ को ‘बा आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको यो गीतमा टंक बुढाथोकीको संगीत तथा एरेन्जमेन्ट र शंकर आचार्यको शब्द रहेको छ । देशभरिका हलमा प्रदर्शन भइरहेको ‘मन बिनको धन’ लाई दर्शकले निकै मन पराएका छन्। फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।
कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यो फिल्मले दर्शकको मन जितेको देखिन्छ। हल भिजिटमा पुगेका अशोक दर्जीलाई दर्शकले अँगालो हालेर रोएको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।
फिल्मका कलाकारहरू राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल-हलमा पुगेका छन् । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा शो पाएको छ । हरेक शोमा दर्शकको ‘हाउसफुल’ उपस्थिति रहेको छ ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ। टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छिन्। यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन्। टिकाराम बुढाथोकी फिल्मका क्रियटिभ निर्देशक हुन्।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।











