
फिल्म । जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ मा पनि अभिनेता दयाहाङ राई छन् । यो वर्ष सुरुआत भएदेखि दुई महिनामा यो उनको तेस्रो फिल्म प्रदर्शन हुँदैछ । आउँदो महिना पनि उनको फिल्मको प्रदर्शन तय भईसकेको छ । अर्थात् हरेक महिनामा एक देखि दुई वटासम्म दयाका फिल्म प्रदर्शन भइरहेका छन् ।
यसले केही हदसम्म दर्शकलाई निराश पनि बनाएको छ । किनकि उही व्यक्ति नेपालको सिमित स्रोत साधनले कसरी फरक देखिन्छ ? ‘फेरी पनि दया !’ नै भन्ने दर्शकले ‘गाउँ आएको बाटो’ हेर्नुपर्ने निर्देशक नवीन सुब्बाले बताए । ‘यो फिल्म दयाले अत्यन्त अब्बल काम गरेको फिल्म हो । अन्य काममा पनि राम्रै काम गर्नुभएको छ । तर, यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिक्व अभिनय छ’,निर्देशक सुब्बाले भने ।

फिल्ममा अभिनेता राईसँगै अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ । दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए । तर, त्यतिबेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन् । ‘बुवा छोराको सम्बन्धमा फिल्म बन्दैछ भन्ने सुनेको थिएँ । तर, त्यतिबेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिएन’,अभिनेता राईले भने,‘संयोग बस यतिबेला यो फिल्म बन्यो, र मैले यसमा काम गर्न पाएँ ।’
यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी वजन घटाएका थिए । ‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा भनिएको छ । त्यसमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

‘विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउने फिल्मर्मीलाई उर्जा मिल्छ’, अभिनेता राईले भने । फिल्ममा दयासँगै जोडी बाँधेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई आफूले सिक्न पाएको बताइन् । ‘१९ वर्षको अभिनयको यो यात्रामा अभिनयका पक्षमा म कहाँ छु त भन्ने खालको धरातल नै बदलिदिनुभयो’, अभिनेत्री सुब्बाले भनिन् ।

बाल-कलाकारको अभिनयमा देखिएका प्रसनले भने ‘गाउँ आएको बाटो’मा काम गर्दा निकै रमाइलो भएको बताए । अभिनेता दयाहाङ छायांकन ताका प्रसनले आफूलाई चुनौति दिने किसिमको अभिनय गरेको पनि बताए । अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैं नेपाली दर्शकले पनि मनपराइदिनेमा निर्माता राई आशावादी छन् ।

‘यो फिल्म विश्वका प्रमुख फेस्टिभल घुमेर आफ्नै गाउँ फर्किएको छ । जसरी विश्वका दर्शकले यो फिल्मलाई राम्रो छ भनेर विश्वास गरिदिनुभयो, मनपराइदिनुभयो । त्यसरी नै घरेलु दर्शकले पनि मनपराइदिनुहुनेछ भन्ने आशावादी छौं’, निर्माता राईले बताए ।
यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।