कस्ता फिल्ममा बढ्दैछ दर्शकको आकर्षण ?

फिल्म । गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै फिल्म प्रदर्शन भए । सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायात फिल्म प्रदर्शन हुँदा हलमा दर्शकको अभाव देखियो । फिल्मले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले पनि व्यावसायिक रूपमा निकै कमजोर व्यापार ग¥यो ।

गत वर्ष ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए । उल्लेखित अधिकांश फिल्ममा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारीपश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो ।

विश्वभरका फिल्म हेरेर भिन्न-भिन्न स्वाद लिए पनि दर्शक रमाइला फिल्ममै नै केन्द्रित देखिए । कोरोना महामारीपछि फिल्म साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव देखिएन । विश्वका चलचित्र महोत्सवमा पुगेका फिल्ममा दर्शकको आकर्षण नदेखिनुले हलमा विसुद्ध मनोरञ्जन लिन दर्शक पुग्ने गरेको स्पष्ट सङ्केत गरेको छ । शृङखलाबद्ध र रमाइला फिल्ममा दर्शकको उपस्थिति देखियो ।

निर्देशक अनिल योञ्जनले दर्शकले रुचाउनुभएका फिल्म अनुसार विविधता दिनुपर्ने बताए । ‘म अहिले कलात्मक फिल्मलाई व्यावसायिक रुपमा तयार गर्नुपर्ने बिचारसँग सहमत छु । किनकि दर्शकले चाहेको विधामा विविधता पस्किन सक्नुपर्छ’, उनले भने ।

पछिल्लो समय कलात्मक भनिएका फिल्ममा समेत व्यावसायिक रुपमा परिचत कलाकारलाई राखिएको छ । अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भएता पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको छ । यो वर्ष ‘राजागञ्ज’, ‘एक मुठ्ठी बादल’ जस्ता फिल्म प्रदर्शन हुँदैछन् । यी फिल्मको व्यावसायिक नतिजाले पनि अन्य फिल्मकर्मीलाई निर्माणमा प्रेरित गर्ने छ ।

कमेन्ट गर्नुहोस्