सङ्गीत । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आईतबार काठमाडौंको नाचघरमा दोश्रो वार्षिकोत्सव तथा सम्मान समारोह सम्पन्न गरेको छ । गीत संगीत, नृत्य सहित आयोजित सो कार्यक्रममा विभिन्न श्रष्टाहरु सम्मानित भए । सो समारोहमा नेपाल म्युजिक भिडियो निर्देशक समाजले ‘आलोक–सुरज स्मृति पुरस्कार २०८०’ बाट संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सो पुरस्कार बासकोटालाई प्रदान गरेका हुन् ।
बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले २०४५ सालमा नगरकोटमा छायाँकन गरेर नेपालको पहिलो म्युजिक भिडियोको औपचारिक छायाँकन गरेका थिए । यसरी नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘आलोक–सुरज स्मृति पुरस्कार’ बासकोटालाई प्रदान गरिएको म्युजिक भिडियो निर्देशक समाजका कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
नेपाली गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै समारोहमा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महतलाई सम्मानित गरियो । यस्तै बरिष्ट गायक आनन्द कार्की, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसीलाई पनि कार्यक्रममा सम्मानित गरियो । म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, गायिकाहरु जुनु रिजाल, प्रश्ना शाक्य, गीतकार प्रकाश सुवेदीलाई पनि सम्मानित गरियो ।