‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ को नेपाल प्रदर्शन तय

फिल्म । विश्वका ठूला फिल्म फेस्टिभल सहभागिता जनाएको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ ले नेपाल प्रदर्शन तय गरेको छ । विसं २०८१ जेठ १८ मा प्रदर्शन तय गरिएको फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले हल प्रदर्शनका लागि मेन्छयम पिक्चर्ससँग सहकार्य गरेको छ ।

दयाहाङ राई, प्रसन राई र पशुपति राईको शीर्ष भूमिका रहेको फिल्म यसवर्ष क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । त्यसपछि दक्षिण कोरियाको बुसान, भारतको मुम्बई फिल्म फेस्टिभलमा यो फिल्म स्क्रिनिङ भैसकेको छ ।

फिल्मले आमाबाबु र बच्चाबीचको सम्बन्ध चित्रण गर्छ । साथै अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गर्छ । फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।

सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो फिल्मलाई भोजपुर, संखुवासभा र धरानमा फिल्मको छायांकन गरिएको हो । ‘नुमाफुङ’ रिलिज भएको २२ वर्षपछि र ‘गुडबाइ काठमाण्डू’ बनेको ६ वर्षपछि ‘गाउँ आएको बाटो’ तयार भएको हो । फिल्मको निर्मातामा नवीन सुब्बा र आमोद राई छन् ।

महेश राई र निर्देशक सुब्बाले पटकथा लेखेका हुन् । फिल्ममा अमेरिकी सिनेम्याटोग्राफर जोस हेरमको छायांकन, क्वान पंग लिउङको सम्पादन, हेइदी लीको संगीत छ ।

कमेन्ट गर्नुहोस्