चलचित्र पत्रकार सम्मानित तथा पुरस्कृत

काठमाडौँ। कला विधामा सक्रिय पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको अवसरमा सक्रिय रहेको भन्दै सात पत्रकारहरुलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पुरस्कृत गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

साढे दुई दशकभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै सस्थापक मध्येका एक शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राई, रश्मी थापा र निरज पन्थीलाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथीको रूपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अन्तिम समयमा आउन अस्वीकार गरेपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना प्रमुख अतिथी बनेका थिए । बुझिएअनुसार उपराष्ट्रपति यादवले विवादित व्यक्ति र संस्थाको कार्यक्रम नजाने अडान राखेका थिए । यद्यपि कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का,निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,निर्माता तथा वितरक गोपाल कायस्थ, अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता पल शाह, लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्