फिल्म । नेपाली अभिनेता प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’ को धमाकेदार टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो । एक मिनेट लामो टिजरमा प्रमोद अग्रहरिलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । टिजरमा उनलाई समुद्रमा गुण्डाहरूसँग भिडिरहेको एक्सन दृश्यमा देख्न सकिन्छ । केही दृश्यहरूमा उनको अनुहार पछाडिबाट खिचिएको भए पनि अग्रहरिलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
टिजरले प्रमोदको बंगलादेशी फिल्म उद्योगमा डेब्यू प्रभावशाली हुने संकेत गरेको छ । टिजर सार्वजनिक भएसँगै उनका फ्यानहरूले फिल्मलाई नेपालमा पनि रिलिज गर्न माग गरिरहेका छन् ।
बंगाली भाषामा ‘हाङ्गोर’ भनिने यस फिल्मको अंग्रेजी नाम भने ‘शार्क’ राखिएको छ । टिजरमा शार्क माछालाई विम्बात्मक रूपमा प्रयोग गरिएको देखिन्छ, जसले फिल्मको कथावस्तुप्रति थप जिज्ञासा बढाएको छ ।










