‘डिग्री माइला मेरो लागि सिकाई हो’ : आँचल

फोटो : राज मल्ल

फिल्म । अभिनेत्री आँचल शर्माले निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईसहितको समूहसँग काम गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । आगामी चैत ३० गते प्रदर्शन हुने फिल्म ‘डिग्री माइला’ को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सहज ढंगले काम सकिएको बताउदै बाँसुरी फिल्म्सका सम्पूर्ण सदस्यलाई धन्यवाद दिईन् ।

‘उहाँहरूको समूह मिलेको छ । सबै अभिनयमा पोख्त हुनुहुन्छ । सोही कारण पनि मलाई अफर आउँदा कसरी काम गर्ने भन्ने लागेको थियो । तर, छायांकन अगाडि भएको वर्कशपले मलाई सहजता महसुश गरायो’, अभिनेत्री शर्माले भनिन्,‘उहाँहरूसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ । विशेषत अभिनेता दया दाईसँग पात्र बारेको विभिन्न पाटोलाई नजिकबाट महसुश गर्न पाएँ । मेरो लागि यो सिकाइको अवसर पनि रह्यो ।’

अभिनेत्री शर्माले डिग्री माइला जस्तो गफाडी समाजमा पाईएता पनि आफू त्यस्तासँग सहकार्य गर्न नसक्ने बताइन । ‘म गफाडी छु, तर डिग्री माइला जस्तो गफ हान्न सक्दिन । यो फिल्मको विशेषता नै माइलाको गफ हो’, उनले भनिन् ।

अभिनेता दयाहाङ राईले सपना र अपेक्षा पुरा नहुँदाको मनस्थिति माइलामा देखिएको बताए । ‘यो हाम्रै समाजको एउटा पात्र हो । यसको कथा र व्यथा धेरै मान्छेसम्म पुग्नु पर्छ भन्ने लागेको थियो । यद्यपि फिल्म र नाटकको पात्र उही भएपनि फरक माध्यम हो’, अभिनेता राईले भने ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । यसमा आँचल शर्मा दयाको जोडी बनेकी छन् । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । आगामी चैत ३० गते प्रदर्शन हुने फिल्ममा ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाईएको छ ।

यसको निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

कमेन्ट गर्नुहोस्