निफको छैटौं संस्करण घोषणा

फिल्म। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने घोषणा गरिएको छ। बुधबार आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरी लगायतबारे जानकारी गराइयो । महोत्सवमा ५५ देशका ५०० भन्दा बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मलाई सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले संसारभरको संस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजित महोत्सव निरन्तरताको कामना गरे । अभिनेता तथा निर्देशक नीर शाहले बर्सेनि ३ सय ६५ भन्दा बढी फिल्म प्रदर्शन हुने गरे पनि अति कम मात्र सम्झनयोग्य हुने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु नीर शाह, नवराज केसी, गौरी मल्ल, ऋषि धमला, दीपाश्री निरौला, निर्मल शर्मा, प्रसंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम र इन्द्र बलामी रहनु भएको थियो ।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्मलाई क्यूएफएक्स अन्तर्गतका हलमा प्रदर्शन गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्