फिल्म । अभिनेता अनमोल केसी प्राय आफ्नो पारिश्रमिकका कारण चर्चामा आउने गर्छन् । उनले सुरुआती दिन देखि नै सङ्ख्यात्मक भन्दा गुणात्मक प्रस्टिने गरी काम गरे । अभिनेता भुवन केसीको छोरा भएकाले उनले फिल्ममा हिरो बन्न सङ्घर्ष गर्नु परेन । किनकि उनी फिल्मकर्मीको आँखामा सजिलै परे । यसका साथै उनलाई अन्य बालबालिका झैँ अभाव भएन भन्ने बुझाइ आम मानिसमा छ, जुन स्वाभाविक हो ।
जेठ १० गतेदेखि प्रदर्शन हुने फिल्म ‘फर्की फर्की’ प्रचारप्रसारको क्रममा अनमोलले आफू अभावमा हुर्किएको बताएका छन् । उनले भने,‘मैले भौतिक र आर्थिक अभाव त भोगिन होला तर मसँग परिवारको अभाव सधै रहिरह्यो । मैले बुवा र आमा दुवैको माया एकसाथ पाइन । त्यो अभाव अन्य अभावको तुलनामा निकै मर्मस्पर्शी थियो ।’
अनमोलले फिल्ममा ‘टाइम लुप’ मा फसेको पात्र निर्वाह गरेका छन् । गल्ती गरिरहदा उनी त्यहि समयमा फर्की फर्की पुग्ने गरेका छन् । यद्यपि उनले आफू फर्किएर बाल्यकालमा पुग्ने शक्ति पाएता पनि कुनै कुरामा फेरबदल नगर्ने बताए ।
‘त्यो बेला मेरो आमा र बुवालाई जे सही लाग्यो, के गर्दा खुसी मिल्यो, त्यहि गर्नुभयो । म आफ्नो खुसीका लागि उहाँहरू एकसाथ होस् भन्ने चाहदिन । किनकि मेरो खुसी भन्दा पनि मेरो अभिभावकको खुसी महत्वपूर्ण छ’, अनमोलले भने । उनको बुवा भुवन केसी र आमा सुष्मिता बोम्जनको विवाह सम्बन्ध हार्दिक हुनसकेको थिएन । अन्ततः उनीहरू अलग जीवन बिताउने निर्णय गर्दै सम्बन्ध विच्छेद गरेका थिए ।
‘टाइम लुप’ को कथा रहेको फिल्ममा अनमोलले एक फाइनान्समा काम गर्ने युवाको भूमिका निर्वाह गरेका छन् । ‘म्याडी’ को भूमिकामा रहेका अनमोलले एउटा गल्ती गरेपछि सोही समयमा घुमीरहन्छन । रमकमसँगै दर्शकलाई नयाँपन दिन यो कन्सेप्ट प्रयोग गरिएको निर्माण पक्षले बताएका छन् ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् ।रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।