फिल्म भिडन्त बारे के भन्छन् अनमोल ?

फिल्म । अभिनेता अनमोल केसीको शालीनताको निकै चर्चा हुने गर्छ । उनी धेरै बोल्दैनन् र रिजर्भ बस्छन् । आफ्नो फिल्मको प्रदर्शन वरपर बाहेक अनमोल खासै मिडियामा देखिदैनन् । कसैलाई बिझाउने कुरा नगर्ने अनमोलको फिल्म भने पछिल्लो समय जुधिरहेको छ । उनको नवौं फिल्म ‘छड्के २’ नेपालकै हिट शृंखला ‘छक्का पञ्जा ४’ सँग जुध्यो ।

यतिबेला उनको दसौँ फिल्म ‘फर्की फर्की’ पनि अर्को चर्चित फिल्म ‘पुजार सार्की’ सँग जुध्दैछ । आगामी जेठ १० गते यी दुई फिल्म प्रदर्शन हुँदैछ । यस विषयमा अनमोलले बोलेका छन् । उनले जुध्ने वा भिड्ने कारण आफू नभई निर्माता रहेको बताए ।

‘छक्का पञ्जासँग मेरो फिल्म भिड्न पुग्यो । तर, त्यसपछि पनि मलाई दीपक दाई, दीपा दिदीले प्रोत्साहन नै गरिरहनुभएको छ । मैले उक्त समयमा पनि कुरा गरेको थिएँ । किनकि फिल्म कहिले चलाउने कुरा निर्माताकै अधिकारमा हुन्छ । यसपटक पनि हामीले नै डेट पहिला घोषणा गरेका हौँ’, अभिनेता केसीले भने ।

उनले अहिले नेपालको हल क्षमता भएकाले दुई फिल्मसँगै आउँदा फरक पर्ने बताए । ‘जुध्यो वा भिड्यो भन्ने भाष्य नै गलत छ । किनकि एकै डेटमा दुई फिल्म आउँदा फरक पर्दैन । पहिला केजीएफ जस्तो विदेशी फिल्मसँग चाही भिडेको हुँ । अहिले स्वदेशी फिल्मकै वर्चश्व भएको पाउँदा खुसी लाग्छ’, उनले भने ।

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ लाई निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनले पहिलोपटक अभिनेत्री जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । यो जोडीलाई सार्वजनिक ट्रेलर तथा गीतसङ्गीतमार्फत राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । फिल्ममा जसिताले ‘मिक्सोलोजिस्ट’ को भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । सार्वजनिक ट्रेलर र गीतसङ्गीतको लोकप्रियतालाई मापन गर्दा जेठको १० गते बक्स अफिसमा यो फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्