फिल्म । केही समयको अन्तराल पश्चात अभिनेता भुवन केसी आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जेरी : अन टप’ मा देखिदैछन्। सार्वजनिक प्रचार सामग्रीले चर्चामा ल्याईरहेको उक्त फिल्ममा भुवनले अभिनेता अनमोल केसीको पिताको भूमिका निर्वाह गरेका छन् । आफ्नै छोराको रील लाइफमा समेत पिता बनेका भुवनले उक्त फिल्मले नेपाल चिनाउने बताए ।
‘यो फिल्मले नेपालको सुन्दरता देखाएको छ । यो नेपालले बनाउनु पर्ने फिल्म हो । हामीले गर्व गर्ने सगरमाथादेखि हाम्रो पर्यटनका सम्पूर्ण क्षेत्रमा फिल्ममा कैद भएका छन् । यो फिल्ममार्फत विश्वभर हाम्रो पर्यटन प्रवर्द्धन हुन्छ । फिल्ममा कथामा नेपालको गौरव सगरमाथा जोडिएको छ । हामीले सगरमाथाका सुन्दरतालाई फिल्ममार्फत प्रस्तुत गर्न लागेका छौँ’, उनले भने ।
उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा भएका कारण यसलाई थप प्रचार गर्न नेपाली फिल्मको पर्दामा यस्ता विषय आउनु पर्नेमा जोड दिए । उनले सगरमाथालाई मुख्य विषय बनाएर फिल्मको कथा तयार गरिएकाले पनि यो केही भिन्न रहेको जानकारी दिए । उनले यस्ता फिल्म निर्माण गर्न निर्मातामा ठूलो आट चाहिने बताए । उनका अनुसार हिमाली भेगमा छायांकन गर्दा मौसमका कारण, सडक नहुँदा प्राविधिकले पनि धेरै मेहनत गर्नुपरेको थियो । फिल्म जति सुन्दर देखिएको छ, त्यसका पछाडि त्यति नै धेरै मेहनत लागेको उनले बताए ।
फिल्म ‘जेरीः अन टप’ केदारसँगै अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।











