फिल्म । पौष १० गतेबाट हल संचालक , वितरकहरुको संस्था चलचित्र संघले हल संचालन गर्ने निर्णय गर्यो । त्यहिँ अनुरुप पहिलो दिन हलमा पुगेर फिल्म हेर्न केहि फिल्मकर्मी पुगे । त्यसै मध्येका एक थिए दीपकराज गिरी । शुक्रबार सिभिल मलमा फिल्म हेर्न पुगेका दीपकले हल तत्काल खोल्नु हुन्न भन्ने मत राख्दै आइरहेका थिए । तर , सबै हल खोल्नु पर्नेमा एक मत भएपछी उनि पनि सहमत भए ।
हल पुगेपछि उनले तुलनात्मक रुपमा सुरक्षित रहेको प्रतिक्रिया दिए । ‘अहिले सडकमा देखिने अव्यवस्थित भिडभाड , रेस्टुरेन्टमा देखिने भिडभाडलाई हेर्दा हल तुलनात्मक रुपमा सुरक्षित छ । किनकी यहाँ भौतिक दुरी छ , सेनिटाई गर्ने गरिएको छ , मास्क छ यसले गर्दा पनि अन्यको तुलनामा सुरक्षित छ’ दीपकले भने । यद्दपी उनले दर्शकको भिडभाड ल्याउन स्वदेशी वा विदेशी नयाँ तथा ठुला फिल्म आवश्यक पर्ने बताए ।
‘दर्शकको जमात ल्याउन नयाँ फिल्म चाहिन्छ नै । अब , विस्तारै त्यो माहोल पनि बन्ला’ उनले भने । शुक्रबार राजधानीका मल्टिप्लेक्समा सेन्टी भाइरस , आमा सहित दुइ विदेशी फिल्म प्रदर्शन भएका छन् । पहिलो दिन दीपकसँगै कलाकार भुवन केसी , रविन्द्र सिंह बानिया , निर्देशक प्रदीप भट्टराई , प्रचण्ड मान श्रेष्ठ , निर्माता तथा निर्देशक अशोक शर्मा , कलाकार ऋचा शर्मा लगायत उपस्थित थिए ।












