याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’

फिल्म । हास्यप्रधान सामाजिक कथानक फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को छायांकन मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुरु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा छायांकन गरिएको यो फिल्मको झन्डै ९० प्रतिशत दृश्य याङ्जाकोटमा खिचिने निर्देशक राजु गिरीले जानकारी दिएका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको यो फिल्ममा चर्चित हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ डल्लेको मुख्य भूमिकामा छन् ।

उनको साथमा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रविन्द्र झा, बिनोद न्यौपाने, विशाल पहाडी, ध्रुव कोइराला, सावित्री चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहनकृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियार र निर्देशक गिरी स्वयंले अभिनय गरेका छन् । श्याम लामाको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक विनयराज पौडेल छन् ।

सुमन काफ्लेले निर्माण व्यवस्थापन सम्हालेका छन् भने अशोक रोक्काको श्रृंगार, देव महर्जनको द्वन्द्व निर्देशन र अर्जुन पोखरेलको गीत समावेश छ । उषा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्मको छायांकन करिब एक महिनामा सम्पन्न गर्ने लक्ष्य निर्माण टिमको छ । निर्देशक गिरीले ‘डल्लेले इन्ट्री मार्‍यो’ २०८२ को अन्त्यसम्ममा दर्शकमाझ ल्याउने योजना रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्