‘हिरो भन्दा भिलेनले बढी अभिनय देखाउन सक्छ’

फोटो : ज्ञानु राई

फिल्म । धिरज मगर नेपाली चलचित्रमा उदयमान अभिनेताको रुपमा चिनिनुहुन्छ । ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत चलचित्रमा उदाएका यी अभिनेताले त्यसपछि अभिनय गर्नुभएको ‘आइ एम ट्वान्टी वान’ प्रदर्शनको टुङ्गो लागेको छैन । यद्दपि उहाँले अभिनय गर्नु भएको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदैछ । बेलायतबाट नेपाल आएर अभिनयमा आफूलाई स्थापित गर्ने दौडमा रहनु भएका यी अभिनेता पपुलर अभिनेता मध्ये एक हुनुहुन्छ । तर पछिल्लो समय उहाँले आफूलाई चकलेटी अभिनेता भन्दा पनि कलाकार बन्ने इच्छा जाहेर गरिरहनु भएको छ । स्टारडम भन्दा पनि कलाकारिता मार्फत दर्शकको प्रिय बन्ने सोचमा रहनु भएका धिरजसँग हामीले चलचित्र संवाद गरेका छौँ ।

दिनचर्या कस्तो हुँदैछ ? चलचित्रको प्रमोसनले गर्दा अहिले दिनचर्या परिवर्तन छ । प्रचारप्रसारकै लागि हामी अहिले नयाँ सेड्युलमा छौँ । चार वर्ष पश्चात पर्दामा आउँदैछु । निकै उत्साहित छु । दर्शक मार्फत उस्तै माया पाउने अपेक्षा छ ।

डेब्यु चलचित्रमा पाएको सफलताले सपना पुरा गरेको महसुश हुन्छ ? पहिलो चलचित्रमा पाएको सफलता मेरो लागि निकै खास छ । बेलायतबाट यहाँ आएर गरेको मेहनतलाई दर्शकले सफल बनाउनु भएपछि को दंग हुँदैन । त्यहिँ सफलताले अहिले झन् धेरै मेहनत गरेको छु । यसपटक माया दोब्बर हुनेमा आशावादी छु । मेरो सपना नै एउटा राम्रो कलाकार बन्ने हो ।

तपाइँ स्टारडम भएको अभिनेता तर पछिल्लो समय कलाकार बन्छु भन्ने प्रतिक्रिया दिईरहनु भएको छ नी ? म देखिएकै कारण चलचित्र चल्छ भन्ने मलाई लाग्दैन । त्यहाँ सबैको मेहनत उत्तिकै हुन्छ । स्टारडम त सकिन पनि सक्छ । तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु । त्यसैले मैले डेब्यु फिल्म भन्दा यसमा फरक गरेको छ । गाउँले गेटअपलाई एडप्ट गरेको छु । तपाईको यो चरित्रलाई कसरी तयार गरियो ? म अघिल्लो चलचित्रमा देखिएको भन्दा फरक देखिने सोचमा थिएँ । बाबरीमा कुरा भएपछि मैले फरक देखिन प्रयाश गरेको हुँ । कास्टिङ निर्देशक सुदाम सिके सरसँगको छलफल पश्चात यो चरित्र तयार भएको हो । यो चरित्र पुर्व युवराज पारस शाह ज्युबाट पनि केहि प्रभावित छ । बाहिरी हाउभाउ जस्तै बोल्ने , हिड्ने शैली उहाँसँग मिल्न सक्छ । किनकी यो चरित्र एक्लो छोराको हो । ठकुरी सम्पन्न परिवारको छोराको रुपमा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझें । मैले ठकुरी साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियाले । साथै छायांकन हुनु केहि दिन अगाडी म पुर्व पुगेर त्यहाँको जीवनशैलीलाई पनि नियाले । त्यहाँका युवालाई हेरेरनै चरित्रलाई पूर्णरुपमा तयार गरेको हुँ ।

तपाइँले यस किसिमको चरित्र पहिले सोच्नु भएको थियो ? केहि फरक गरौँ भन्ने लाग्थ्यो । तर यस्तो भने सोचेको थिइन् । किनकी यो म भन्दा बिल्कुलै फरक छ । मलाई निर्देशक सुरेन्द्र पौडेलले नै यसको लागि तयार गर्नु भएको हो । गेटअपसँगै मैले भ्वाइसमा पनि मेहनत गरे । पहिला चलचित्रमा सुनिएको सफ्ट भ्वाइसलाई यसमा फरक बनाए । किनकी विज्ञानमा सबैलाई थर्काउँने , अलि होच्याउने गरिरहने स्वभाव छ । निर्देशकले गर्नु भएको विश्वासमा मैले मेहनत गरेको हुँ ।

अभिनेता र हिरोमा फरक के हुने रहेछ ? हिरो भन्ने वितिकै सुन्दर देखिने हुनुपर्छ । त्यहिँ अनुसारको शारीरिक बनावट चाहिन्छ । उहाँको उपस्थिति नै विशेष हुन्छ । तर अभिनेता कलाकारितामा बाच्नु हुन्छ । उहाँहरुको अभिनय र पात्रलाई दर्शकले सम्झिनुहुन्छ । म मेरो सुन्दरता भन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहन्छु । त्यसैले नै फरक रुपमा प्रस्तुत हुँदैछु । मलाई प्रेम कथानक चलचित्रहरुको अफर आइरहेको छ । यद्दपि म फरक गर्ने प्रयाशमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु ।

तपाइँ लगायत अन्य समकालीन हिरोहरु पनि अभिनेता बन्ने प्रतिक्रिया दिईरहनु भएको छ । एकै पटक यस्तो परिवर्तन किन सबैमा आइरहेको छ ? सायद यसलाई हामीले राम्रो संकेतको रुपमा लिन सक्छौँ । हामीले बुझेको चलचित्र चेतनाको प्रभाव हो जस्तो लाग्छ । किनकी अहिले मेकर्सहरु परिवर्तन हुनुभएको छ । दर्शकले फरक स्वादको चलचित्र खोजिरहनु भएको छ । त्यसैले हामीले पनि मेहनत गर्न जरुरि छ । किनकी अब देखिने भन्दा पनि प्रतिभा देखाउने समय आएको छ ।

तपाइँ तेस्रो चलचित्रमा नयाँ टिमसँग जोडिनु भयो । कस्तो रह्यो अनुभव ? मैले सुरुवातको दुई चलचित्र एउटै टिमसँग गरे । पहिलोमा त खासै मैले अभिनय बाहेक अन्य पक्षलाई ध्यान दिईन् । किनकी म नै नयाँ थिएँ । दोस्रोमा भने मैले प्रोडक्सनको पक्षलाई पनि केहि नियाले । यसले मलाई बाहिरको व्यानरमा काम गर्दा मदत गर्यो । तेस्रो फिल्ममा आइपुग्दा मैले केहि हदसम्म मेकिङ प्रोसेस बुझे जस्तो लाग्दैछ । तर पनि म सिक्ने चरणमै छु । जब तपाइँ विद्यार्थी बनेर कहिँ कतै पुग्नु हुन्छ । त्यहाँबाट केहि नकेहि सिक्नु नै हुन्छ । मेरो लागि यो पटक यस्तै भयो ।

दुई चलचित्रमा कोरियोग्राफर निर्देशक हुनुहुन्थ्यो । यसपटक सम्पादक निर्देशक हुनुहुन्छ । काम गर्दाको अनुभव कस्तो छ तपाइँको ? सुरुवातको दुई फिल्ममा कोरियोग्राफर रेनेशा वान्तवा राई निर्देशकको रुपमा पाएँ । दोस्रो फिल्म डान्ससँग सम्बन्धित भएकाले उहाँ पर्फेक्ट हुनुहुन्थ्यो । यसमा सम्पादक हुनहुन्छ । उहाँले निर्देशन गर्दा निर्देशकसँगै सम्पादक भएर पनि गर्नु हुन्छ । यसको फाइदा भनेकै तपाई नेक्स्ट सिन के गर्दै हुनहुन्छ र त्यो कहाँ जोडिन्छ भन्ने प्रष्ट हुन्छ । यद्दपि एउटा कलाकारले आफूलाई सिन अनुसार तयार गरिरहनु पर्छ । मैले दुवै निर्देशक मार्फत केहि नकेहि सिकेको नै छु ।

अब कस्तो किसिमको भूमिका गर्ने तयारीमा हुनहुन्छ ? अहिले तयारी त त्यस्तो केहि छैन । तर मलाई नकारात्मक भूमिका निर्वाह गर्ने चाहना छ । म आफैँ पनि सस्पेन्स र थ्रिलर फिल्म रुचाउने भएकाले नकारात्मक (एन्टागोनिस्ट) भूमिका निर्वाह गर्न चाहन्छु । किनकी त्यहाँ झनै कलाकारिता देखाउन सकिन्छ भन्ने मलाई लाग्छ । मलाई सुहाउँदो रोल अफर भयो भने म भिलेन बन्न पनि तयार छु ।

चार वर्षपछि पर्दामा आउँदै हुनहुन्छ । दर्शकबाट कस्तो अपेक्षा गर्नु भएको छ ? डेब्यु फिल्म झैँ माया पाउने विश्वास छ । मलाई पर्खिनु भएको दर्शक निराश नहुने फिल्म लिएर आएको छु । उहाँहरु हलमा आउँदा खर्चिने समय र पैसा बराबरको मनोरञ्जन पाउनु हुन्छ भन्ने लागेको छ । उहाँहरुको पर्खाइ खेर जादैन भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु ।

कमेन्ट गर्नुहोस्