‘सौगात नभई पात्रकै जीवन बाचेको छु’

फिल्म । अभिनेता सौगात मल्ल आफूले निर्वाह गर्नुभएको भूमिकाका कारण परिचित छन् । ‘रणभूमि’ मा पहिलोपटक अभिनेताको रुपमा देखिएका अभिनेता मल्लले ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्रमा काम गरेता पनि उनलाई रङ्गमञ्चको अभिनेता भनेर चिन्ने गरिन्छ । किनकि ती फिल्ममार्फत उनले आफूलाई चिनाउन सकेनन्। ‘हाकु काले’ र ‘बमकाजी’ का उपनाम पाएका अभिनेता मल्ललाई ती नामलाइ बिर्साउन सक्ने अभिनय नै चुनौतीसमेत बनिरहेको छ । साथै, आफूलाई चिनाउने रङ्गमञ्चमा फर्किन नसक्नु उनका लागि सुखद हैन । अभिनेता मल्लसँग उनको अभिनय यात्रा र आगामी योजना बारे जयहोस्ले कुराकानी गरेको छ ।

रङ्गमञ्चको अभिनेतालाई किन नाटकमा देखिन कठिनाई भईरहेको छ ?

लामो समय नै भयो । तर, योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले सम्पन्न हुन् सकेको छैन । केही अभिनेता साथीहरूसँग पनि योजना बनाइरहेको छु । एउटा चलचित्रमा काम गरेर त्यसलाई नै नाटकका रुपमा समेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो । तर, विविध कारणले रोकिएका छन् । विशेषत आर्थिक पाटो पनि जोडिन्छ । म मात्र आर्थिक रुपमा सहज भएर हुँदैन, सम्पूर्ण समुहनै मिल्नु पर्छ ।

चलचित्रमा एकै किसिमको भूमिकामा देखिनुभयो भन्ने पनि गुनासो छन्, तपाइँलाई के लाग्छ ?

हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोशिस गरिरहेका हुन्छौँ । कहिले काही निर्माताले पुरानै पात्रलाई ल्याउनुस भन्दा पनि फरक गर्ने हाम्रो प्रयास हुन्छ नै । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रलाई निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निकर््यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शकको रुपमा निर्देशक नै हुन् । तर, हामी अभिनेताले पनि आफ्नो काम इमान्दारितापुर्वक गर्नुपर्छ ।

लगातार चलचित्रमा देखिदा यो समस्या आइरहेको त छैन ?

त्यो पनि हुन् सक्छ । किनकि हामीले लगातार चलचित्रमा काम गर्दा एउटा पात्रबाट अर्को पात्रमा प्रवेश गर्छौँ । उक्त समयमा कहिले काही वास्तविक सौगात मल्ल पनि हुदैन । त्यसैले एउटा चलचित्रमा काम गरेपछि अर्कोमा काम गर्न केही समय चाहिन्छ । म त्यहि योजनामा छु । यसले हामीलाई पुरानो पात्रबाट निकाल्ने मात्र नभई नयाँ पात्रलाई बुझ्न मदत पनि गर्छ । यसको फाइदा मलाई पनि हुन्छ ।

निर्माता, निर्देशकबाट पात्रलाई तयार गर्न समय पाउनुहुन्छ ?

कहिले काही समय पाइदैन । किनकि चलचित्रको काम सकेर प्रदर्शन गर्नुपर्ने हुन्छ । कथावस्तु अनुसार त्यसलाई कती समयमा तयार गर्ने भन्ने योजना पनि हुन्छन् । मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘अगस्त्य’का लागि बीस किलो तौल घटाएर पुनः बढाए । त्यसका लागि मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए । किनकि एउटा चलचित्रमा त्यति धेरै समय दिन गाह्रो थियो । त्यसपछि तौल बढाए । तर, मेरा लागि शारीरक भन्दा पनि मानसिक रुपमा पात्रलाई तयार गर्न कठिनाइ हुन्छ ।

तपाईंले पात्र कसरी तयार गर्नुहुन्छ ?

लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले त्यसलाई तयार गर्छ । तर, मैले आफ्ना भोगाइलाई समावेश गर्ने गर्छु । परिवेश अनुसार भोगाइले तयार गर्ने पात्रलाई कल्पना गर्छु । निर्देशकले देख्ने र मैले बुझ्ने पात्र मिलेपछि त्यसलाई पर्दामार्फत दर्शकसम्म पु¥याउने गरेका छौँ ।

तपाईं समग्र कथा भन्दा पनि आफूले निर्वाह गर्ने पात्रलाई बढी ध्यान दिनु हुन्छ ?

पहिला हो । मलाई मेरो पात्रले आकर्षण गर्थ्यो । तर, समग्रमा कथा बलियो भएन भने मेरो एक्लो पात्रले प्रभाव पार्न सक्दैन । तर, म आफ्नो पात्र बाहेक अन्य कुरामा धेरै चासो लिन्न । किनकि त्यसले मलाई नै अप्ठ्यारो पार्छ ।

आफ्नो काम आफैँलाई कस्तो लाग्छ ?

मलाई मैले गज्जब काम गरें भन्ने लाग्दैन । त्यसैले हरेक पात्रमा मेहनत बढाईरहेको हुन्छु । म आफ्नो काम धेरै मन नपराउने अभिनेतामा पर्छु । र, आफ्नो कामबाट सन्तुष्ट भयो भने अल्छी बन्न सकिन्छ भन्ने लाग्छ ।

आफूले गरेको काम कहाँ विग्रियो भन्ने थाहा हुन्छ ?

छायाङ्कनकै क्रममा कथामा लेखिएका कुराहरू भएका छन्, की छैनन् भन्ने थाहा हुन्छ । स्वराङ्कनसम्म यस चलचित्रबाट कति आशावादी रहने भन्नेमा लगभग स्पष्टता आउँछ । त्यसैले सफलता वा असफलता भन्दा पनि हाम्रो ध्यान मेहनत र आफूले पाउने पात्रमा केन्द्रीत हुन्छ ।

चलचित्र छान्ने बेलामा त्यस्ता पक्षमा ध्यान दिनु हुन्न ?

मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम विग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र, म कहाँ प्रस्ताव आएका चलचित्रबाट नै मैले छनौट गर्ने हो । कहिले काही फलानो चलचित्र किन नगरेको भन्ने पनि सुन्छु । तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका चलचित्रमै मैले काम गर्ने हो ।

त्यही भएर निर्माता बन्नुभयो ?

निर्माता बन्नुमा विषयवस्तु राम्रो लागेको हो । सो समयमा निर्माण पक्षलाई सहकार्यको आवश्यकता मैले महसुश गरें । कलाकारिताबाटै यो स्थान बनेको हुँ । त्यसैले आफ्नो कमाईलाई यही प्रयोग गरें । राम्रो कथालाई पर्दामा ल्याउन म सहयोगी हुनुपर्छ भने म तयार छु । किनकि मैले अभिनय र चलचित्र बाहेक अरु जानेको छैन ।

निर्माता त बन्नुभयो, निर्देशनतर्फको सोच के छ ?

त्यो सोच अहिले छैन । विशेषत अभिनयमै केन्द्रीत रहन्छु । कहिले काही निर्माताको रुपमा पनि पाउनुहुनेछ । आगामी समयमा गर्ने कामका लागि पछिल्लो कामको समीक्षा गर्नेछु । गरिसकेको गल्ती फेरी नहोस् भन्ने नै सोचेको हुन्छु । यसका साथै छिटै रङ्गमञ्चमा देखिने प्रयास गर्नेछु ।

कमेन्ट गर्नुहोस्