शनिवार ‘गौँथली’ को बम्पर कमाइ

फिल्म । प्रदर्शनरत नेपाली फिल्म ‘गौँथली’ ले शनिबार एकै दिनमा १ करोड ६७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सिनेपा @ बक्सअफिस’ एपमा रहेको विवरणअनुसार फिल्मले शनिबार देशभरबाट उक्त कमाइ गरेको हो । यो प्रदर्शनयताकै फिल्मको सर्वाधिक दैनिक कमाइ हो ।

शनिबारको उत्साहजनक व्यापारसँगै फिल्मले १० करोड रुपैयाँको क्लब सहजै पार गर्ने संकेत देखिएको छ । विशेषगरी काठमाडौंदेखि पश्चिम नेपालगञ्जसम्मका हलमा निर्देशक डा. कपिल रिजाल निर्देशित फिल्मको अकुपेन्सी उच्च रहेको छ ।

निर्माता सुमन गिरीका अनुसार शनिबार फिल्मले प्रदर्शनयताकै सबैभन्दा उच्च व्यापार गरेको हो । सकारात्मक ‘वर्ड अफ माउथ’ कायमै रहे फिल्मले निकट भविष्यमा १५ करोड रुपैयाँको व्यापार पनि पार गर्न सक्ने अनुमान गरिएको छ । यसैबीच, सामाजिक कथावस्तुमा आधारित ‘गौँथली’ शुक्रबारदेखि अमेरिकाका २६ राज्यमा पनि प्रदर्शनमा आएको छ ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

कमेन्ट गर्नुहोस्