मन्त्री किरातीले सार्वजनिक गरे यश कुमारको ‘तिमी छौ र त’

सङ्गीत । गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक कार्यक्रम गरिएको छ । म्युजिकल फिल्म भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरे ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यसको हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने,‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटकमा नेपाली गीतसङ्गीत र फिल्मको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किरातीले गीतसङ्गीत र फिल्मसँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जुकिर गरे । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीतसङगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।

‘मैले सुरुआती समयदेखी नै गीतसङगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छु’, यश कुमारले भने । भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्