फिल्म । कलाकारिता हुँदै समाजसेवामा सक्रिय जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माणसँगै अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा देखाईएको कथासार अनुसार समसामयिक राजनीतिक विषयवस्तुमा फिल्म निर्माण भएको देखिन्छ ।
विशेष गरि राजनीतिले एकै परिवारलाई पनि दुइ चिरामा पार्ने तथ्यलाई यसमा समेटिएको छ । फिल्ममा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् । भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल) को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि राजनीतिक रुपमै चित्रण गरिएको छ ।
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यसफिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् भने यसमा सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक निर्देशक रामबाबु गुरुङ हुन् । यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।











