‘जुनाको कन्टेन्ट नै स्टार हो’ : निर्माता घिमिरे

फिल्म । बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म ‘जुनाः एक व्यथा’ निर्माण गरिएको निर्माता दीपकप्रसाद घिमिरेले बताएका छन् । उनले फिल्मको ट्रेलर सार्वजनिक गर्दै विश्वभर व्याप्त रहेको बालविवाहको समस्या विरुद्धको चेतना बढाउन फिल्म निर्माण उपयोगी लागेको बताए ।

उनले भने,‘यो सबैले हेर्नुपर्ने एउटा फिल्म बनेको छ । सार्वजनिक प्रदर्शन अगाडि हामीले गरेको विभिन्न च्यारिटी शोमा अभिभावक र बच्चा दुवैलाई देखाएका थियौँ । हाम्रो उदेश्य परिवार र समाजलाई नै बालविवाह विरुद्ध सचेत गराउनु हो ।’

उनले फिल्म हेर्दा जो कसैको सजिलै आँखा रसाउने दावीसमेत गरे । निर्माता घिमिरेले फिल्ममा चिनिएका कलाकार नदेखिए पनि विषय र पात्र अनुसार सबै फिट रहेको बताए ।

‘झट्ट हेर्दा अनुहार बिक्ने कलाकार कमै देखिएका होलान् । तर, हामीले तयार गरेको कथा र परिकल्पना गरेका पात्रलाई कलाकारले जीवन्त बनाउनु भएको छ । यो फिल्मको हिरो नै कथा हो’, निर्माता घिमिरेले भन्नुभयो ।

आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्