‘गाउँ आएको बाटो बुबा छोराको कथा हो’ : निर्देशक सुब्बा

फिल्म । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने श्रेय पाउने निर्देशक नवीन सुब्बाले सुरुआतमा रङ्ग पत्रकारिता गरेका थिए । समीक्षा र समाचार लेख्दा लेख्दै उनले फिल्म निर्देशन गर्न पुगे । तर, यो उनको कुनै कार्ययोजना थिएन । कमजोरी र त्यसलाई मिलाउन सक्ने पक्ष केलाउने भएकाले नवीनलाई कसैले ‘आफैँ कोसिस गर’ भनिदिए ।

त्यसपछि उनले शेर्पा भाषामा हिमाली संस्कृति र कथा समेटेर ‘खाङ्ग्री’ तयार गरे । यो पहिलो पटक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुग्ने निजी लगानीको फिल्म थियो ।ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवलगायतमा सहभागिता जनाउन सफल भएपछि निर्देशक सुब्बाको दोस्रो फिल्म ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका थिए ।

‘मलाई कमजोरी मात्र देखाउने होइन, प्रयास पनि गर्नु पर्छ भनेपछि निर्देशनमा आएँ । नियमित भन्दा फरक कोसिस गरे, जसलाई रुचाईयो । भइरहेकै काम भने नगर्ने पक्षमा थिएँ । अहिले पनि नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको छ ‘, निर्देशक सुब्बाले भने ।

सुब्बा निर्देशित चौथो फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ४८औँं संस्करणमा छनोट भई वर्ल्ड प्रिमियर गरिएको उक्त फिल्म दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, भारतको मुम्बई फिल्म महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवलगायतमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिसँगै पर्यटन प्रवर्द्धमा समेत टेवा पु¥याउने उनको विश्लेषण छ ।

‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा भनिएको छ । त्यसमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

‘यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो । यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ’, निर्देशक सुब्बाले भने । महोत्सवमा सहभागी भएको फिल्म भन्नेवित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाइ छ । फिल्मको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हास्यरस हुने उनले बताए ।

‘अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ । किनकि कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतिकरण नियमितभन्दा पक्कै फरक छ’, उनले भने ।

उनले बुवा-छोराको कथाले चलचित्र भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने विश्वास व्यक्त गरे। गाउँमा बाटोले विकाससँगै के-के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको उनको भनाइ छ। ‘कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ । बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ । हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ । यो हाम्रो ग्रामीण भेगको कथा हो’, निर्देशक सुब्बाले भने ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाद्वारा लिखित फिल्मको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत दिएका छन् ।

कमेन्ट गर्नुहोस्