फिल्म । आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ को सार्वजनिक प्रदर्शन सुरू गरिएको छ । फरक विधाका दुई फिल्मले दर्शकलाई मनोरन्जन दिने विश्वास निर्माण पक्षको छ । सार्वजनिक प्रदर्शन अगाडि काठमाडौँमा आयोजना गरिएको प्रदर्शनी (प्रिमियर) मा दुवै फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेका थिए ।

गाउँ आएको बाटो
नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ मा पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले एक परिवारमा पारेको असरको कथा देखाईएको छ ।
अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् ।
फिल्ममा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् । फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।


लन्डन टु पेरिस
घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ मा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।
यसले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्ममार्फत डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेकाछन् । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् ।

यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।