फिल्म । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘प्रकाश’ लाई पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले हेरेका छन् । फिल्म हेरेर निस्किएपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै फिल्मले आफूलाई प्रभावित बनाएको बताए । फिल्म हेरिरह्दा उनको प्रतिक्रिया लिन निर्माता महेन्द्र अधिकारी , निर्देशक दिनेश राउत , अभिनेत्री दीया मास्के , लेखक विकाश सुवेदी लगायत हलमै पुगेका थिए । फिल्म हेरेर निस्किएपछि उनले फिल्म निकै राम्रो बनेको बताए ।
‘म निकै कम फिल्म हेर्छु । यसको प्रचारप्रसार सामग्रीले फिल्म हेर्न हलसम्म ल्यायो । फिल्म हेर्दा दुई , तीन दृश्यले आँशु रोक्न दिएनन्’ उनले भने । श्रीमतीसँग फिल्म हेर्न आइपुगेका मिश्रले आधा स्कुले जीवन सुदूर पश्चीममा टुकी बालेर अध्यन गरेको बताए । ‘शहरमा हुर्केका-बढेका, कर्णाली (र सुदूर पश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गर्दछु’ उनले भने । उनले गरिवी, माओवादी द्वन्द्व, समाज/शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण फिल्म ‘प्रकाश’ रहेको बताए ।
‘लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट ‘प्रकाश’ उत्कृष्ट छ। राम्रो र शक्तिशाली फिल्म बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण आज पाएँ’ मिश्रले भने । उनले फिल्ममा विषयवस्तुसँगै प्रस्तुति अब्बल रहेको बताए । निर्देशक राउत , लेखक सुवेदी लगायत टिमलाई धन्यवाद दिदै गर्दा उनले प्रदीपलाई भने ‘मिस’ गरे ।
‘जीवन्त अभिनय गर्ने प्रदीपलाई भेट्न मन थियो । उसको काम बारे प्रत्यक्ष रुपमा धन्यवाद दिन मन थियो’ उनले भने । उनले फिल्मलाई अहिलेसम्म हेरेको नेपाली फिल्ममा पर्फेक्ट पाएको बताए । मिश्रको प्रतिक्रियाले लेखक सुवेदी तथा निर्देशक राउत खुशी थिए । ‘हाम्रो कामको मुल्यांकन हुनु र देखाउन खोजेको तथ्य बुझ्ने दर्शक पाउँदा खुशी नहुने कुरै भएन । हाम्रो भावलाई उहाँले गहिराईसम्मनै पुगेर महसुश गरेको प्रतिक्रियाले थाहा हुन्छ’ निर्देशक राउतले भने ।
दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।
समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।












