फिल्म । रिलिजको पुर्व सन्ध्यामा कीर्तिपुर स्थित किर्तिपुर सिनेप्लेक्समा प्रिमियर गरिएको फिल्म’म यस्तो गीत गाउँछु २’ लाई सुखद प्रतिक्रिया मिलेको छ । फागुन १३ गते शुक्रबारदेखि रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रिमियरमा हेर्न पुगेका अधिकाँस फिल्मकर्मीले राम्रो रहेको प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथा रहेको फिल्म हेरेपछि अभिनेता रमेश उप्रेतीले फिल्म बनेको जनरामा शतप्रतिशत निर्देशकले न्याय गरेको बताए । ‘फिल्ममा हरेक पक्ष सबल छन् , गीतसंगीत र प्रस्तुति आकर्षक छन् । यो जनरा मन पराउने दर्शकलाई फिल्मले निराश बनाउदैन’ रमेशले भने । रमेशसँग फिल्महेरिसकेपछि प्रतिक्रिया दिईरहेकी अभिनेत्री निशा अधिकारीले पनि सहमति जनाउदै पल र पुजाको क्रेज फिल्मले प्रस्ट्याउने बताइन । ‘सुदर्शनजी अझै परिपक्क हुनु भएको छ । मैले हेरेको उहाँको फिल्महरुमा यो अब्बल छ’ निशाले भनिन् ।
फिल्म हेरिसकेपछि अभिनेता दीपकराज गिरीले लभ स्टोरी मन पराउनेलाई यो फिल्म मन पर्ने विश्वास व्यक्त गरे । अभिनेत्री निरुता सिंहले भनिन्, ‘फिल्म हेरेपछि म धेरै पटक रोमाञ्चित भए भने कैयौं पटक रोएँ ।यसको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट छ । कलाकारको अभिनय बेजोड लाग्यो ।’ सँगै रहेकी निर्देशक दीपाश्री निरौलाले भनिन्, ‘यसले फिल्म क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शनले उत्कृष्ट फिल्म बनाउनुभएको छ ।’
फिल्म हेर्न पुगेका कलाकारहरु प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको सुनाए । फिल्म सकिएपछि पाएको प्रतिक्रियाले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । ‘दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको छौँ , अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा गएको छ’ सुदर्शनले भने । अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको फिल्मको टिकट बुकिङ पनि खुल्ला भइसकेको छ ।












