फिल्म । सिर्जनात्मक स्क्रिप्टमा काम गर्न रुचाउने अभिनेत्री मध्यकी एक हुन् सुरक्षा पन्त । उनले आफुलाई हिरोइन भन्दा पनि क्यारेक्टर अनुसार अगाडी बढाउने गर्छिन् । यसैले गर्दा थोरै फिल्ममा देखिएपनि उनले प्रभाव छाड्ने गर्छिन् । यिनै सुरक्षा अभिनित फिल्म ‘आमा’ को ट्रेलर गत विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । यतिबेला ट्रेलरले पोजेटिभ फिडब्याक पाइरहेको छ । फिल्ममा सुरक्षा छोरीको भूमिकामा छिन् । बुवा बिरामी भएपछी र दाइ काम गर्न विदेशमा रहेको अवस्थामा एउटी छोरीले आमासंगै गर्ने संघर्षलाई यसमा देखाइएको अनुमान ट्रेलरबाट गर्न सकिन्छ । फिल्मकै लागि उनले कपाल मुण्डन समेत गरेकी थिइन् ।
फिल्मको फस्टलुक्समा देखिएको उनको मुण्डनलाई ट्रेलरमापनि देखाइएको छ । जुन दृश्यले यतिबेला तारिफ पाइरहेको छ , त्यसलाई सम्झिदा भने उनि भावुक भइन । ‘कम कलाकारले फिल्ममा मन छुने पात्रको भूमिका निर्वाह गर्न पाउँछन्। आमा फिल्म सुटिङको दौरान भोगेका अनुभव सम्झँदा यस्तै आँसु झर्छन्,’ उनले अनुभव सुनाइन । उनले आफुमा पात्र बाचेको महसुस गर्दै भनिन् ‘त्यो दृश्य गर्दा र मेरो कपाल मुण्डन हुँदै गर्दा मेरो आँखा रसाई रहेका थिए ।’ उनको यस्तो मेहनत देखेर एक स्थानीयले उनलाई भने ‘कलाकार बन्दा त सबै गर्नु पर्छ है ।’ उनले आफु एउटा राम्रो फिल्ममा देखिने अवसर पाएकोमा टिमलाई धन्यवाद पनि दिईन् । फिल्ममा आमाको भूमिका मिथिला शर्माले निर्वाह गरेकी छिन् । उनले यसलाई आफ्नो करियरकै टर्निङ पोइन्ट भनेकी छन् ।
‘मान्छेको जीवनमा एउटा टर्निङ पोइन्ट हुन्छ। यो फिल्म मेरो जीवनको टर्निङ पोइन्ट भएको छ’उनले भनिन् । फिल्मकै घोषणामा यस भूमिकामा सुर्यमाला खनाल प्रस्तुत हुने बताइएको थियो । तर , यतिबेला फिल्ममा मिथिला शर्मा छिन् । यसलाई मिथिलाले सुर्यमालाको ब्याडलकको रुपमा लिन्छिन् । ‘सूर्यमालाजी निकै राम्रो कलाकार हो तर , उँहाको भाग्यमा आमा रहेनछ’ उनले भनिन् ,’उँहा हजुरआमा बन्दा आमा बन्ने सौभाग्य मैले पाए ।’ उनले ‘आमा’ उपनाम पाउनेमा विश्वस्त रहेको समेत बताइन । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










