प्रकाशको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक (भिडियो)

फिल्म । गायक प्रकाश दुतराजले नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक गरेका छन् । यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो । प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुन्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बि.कले गीतको एरेन्ज गरेका छन् । गीतमा प्रकाशसँगै गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् ।

‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । आफ्ना यसअघि स्रोता तथा दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरुलाई एउटै भिडियोभित्र प्रस्तुत गरेका छन् । प्रकाशको बैनी झ्यालैमा, चोली मैलै भो, घर कता हो बैनीको र जाम भो माइली भित्रका पात्रहरुलाई ‘मन भुल्छ’को भिडियोमा प्रस्तुत गरेका हुन् । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा उनी ‘क्रियटर’को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरुलाई कल्पना गरेका छन् । मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका प्रकाशका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के. मानन्धनले छायाँकन गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस्