राष्ट्रपति पौडेलद्वारा खड्का पुरस्कृत

मनोरञ्जन । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा शीतलनिवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पु¥याएवापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०८०’ पत्रकार चेतनाथ धमलालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले युगकवि श्रेष्ठको सुयश फैल्याउन सहयोग गर्नुहुने निर्देशक जनक खड्कालाई कदरपत्र प्रदान गर्नुभयो । नगद २५ हजारसहित पुरस्कृत निर्देशक खड्काले पुरस्कारले दायित्व बढेको प्रतिक्रिया दिनुभयो ।

‘नेपाली कला र साहित्यमा सक्रिय रहँदै गर्दा यो पुरस्कारले प्रोत्साहन मिलेको छ । साहित्यसँग नजिक रहेर काम गर्ने प्रेरणा मिलेको छ’, उनले भने । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, प्राडा मोहन लोहनीले युगकवि श्रेष्ठको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्