सकियो ‘अक्षरा’ को छायांकन

फिल्म । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘अक्षरा’को छायांकन सम्पन्न भएको छ। कलाकार तथा प्राविधिकहरूको मेहनतका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार ३७ दिनमै फिल्मको सम्पूर्ण छायांकन पूरा भएको निर्माण पक्षले जनाएको छ। निर्देशक पौडेलले सबै कलाकार तथा प्राविधिकको सहकार्य र अथक परिश्रमका कारण निर्धारित समयभित्रै छायांकन सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

छायांकन समापनअघि निर्माण टोलीले गत सोमबार तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको ‘नाचौँ न बरिलै’ बोलको गीतको छायांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत तथा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ। साथै, बाल कलाकार रोनक खड्का र प्रीसा ढुङ्गाना पनि फिल्ममा देखिनेछन्।

फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमनज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार गरेका छन्।

दीपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा मदन न्यौपानेको श्रृंगार, प्रार्थना भट्टराईको भेषभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ। मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा तथा सहायक निर्देशकमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।

यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयराज पौडेलले ‘अक्षरा’मार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्। राकेश दाहालले डिजाइन गरेको फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ। फिल्म आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। फिल्मको वितरणको जिम्मेवारी नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन्।

कमेन्ट गर्नुहोस्