फिल्म । आगामी दसैँको अवसरमा असोज १३ बाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’को प्रचारप्रसार तीव्र गतिमा अगाडि बढेको छ । देशभरका हलहरूमा ठूला पोस्टर र विभिन्न स्थानमा होर्डिङ बोर्ड राखिएका छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ । भदौको पहिलो साता सार्वजनिक हुने गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर ओएसआर डिजिटलको इमेल [email protected] मा भदौ २० गतेसम्म पठाउनुपर्नेछ । ती भिडियो ओएसआरको युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक हुनेछन् ।
सर्वाधिक भ्यूज प्राप्त गर्ने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरी असोज १२ गते ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ । मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय छ ।
फिल्मको कथा चन्द्रकुमार दोङ, डीओपी सुशन प्रजापति, पटकथा र संवाद रामशरण पाठक, सम्पादन सुरेन्द्र पौडेल, गीत किरण खरेल, कुमार स्याङ्बा र राम अविरल, संगीत चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेव, तथा एक्सन अष्ट महर्जनको छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।










