फिल्म । सोमबार सार्वजनिक भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ लाई चोरीको बात लागेको छ । संगीतकार आलोक श्रीले आफ्नो आधुनिक गीत ‘कहिले फोटो सिरानी’संग ‘दुबो फुल्यो’ मिल्न गएको दाबी सहित निर्माण टिमसँग छलफल गर्ने भएका छन् । ‘हाम्रो गीतको संगीतसँग कबड्डीको संगीत मिलेको छ , मैंले पनि अरुले भनेपछि थाहा पाएको हो’ उनले भने ,’ संगीत मिलेपछि एसडी योगी सम्पर्कमा आउनु भइसकेको छ र यसैको लागि निर्देशक रामबाबु गुरुङ लगायत कबड्डी टिमसँग मिटिङ राखेको छौं ।’ संगीतकार आलोक श्रीले संगीत मिलेको तर आफुले संगीत चोरेको आरोप नलाएको बताए ।
यता फिल्मका निर्देशक रामबाबु गुरुंगले आफ्नो फिल्मको गीत संगीतसँग कुनै पनि गीत संगीत नमिल्ने दाबी गरेका छन् । ‘गीत मिल्यो मिलेन दुई जना संगीतकारलाई विशेष ज्ञान होला । मेरो लाटो कानले सुन्दा त मिल्दैन’, निर्देशक गुरुङले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । यस विषयमा संगीतकार एसडी योगीले भने आफ्नो प्रतिक्रिया दिईसकेका छैनन् । कहिले फोटो सिरानीमा गीतमा काली प्रसाद बाँस्कोटा र शर्मिदा बर्देवाको स्वर रहेको छ भने कबड्डीको दुबो फुल्यो गीतमा हेमन्त राना र रितिका श्रेष्ठको स्वर रहेको छ ।