फिल्म । निर्देशक सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको शब्द र कम्पोज महेश काफ्लेकै रहेको छ भने रिकेश गुरुङले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका छन् ।
गीतको भिडियोमा मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आशिफले गीतमार्फत गरिमालाई मन पराउँदै फकाउँदै गरेको दृश्य प्रस्तुत गरिएको छ ।
सामाजिक कमेडी कथामा आधारित ‘जन्ते बाख्रो’ मा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायत कलाकारको अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् भने निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा जन्तीलाई खुवाइने विशेष भोज ‘जन्ते बाख्रो’ वरिपरि फिल्मको कथावस्तु केन्द्रित छ ।
यसको छायांकन हरि हुँमागाई र उत्तम हुँमागाईले गरेका छन् भने सम्पादन सुनिल शिवभक्तिको रहेको छ । रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले पोस्टर डिजाइन गरेको फिल्मको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ। ‘जन्ते बाख्रो’ आगामी जेठ २३ गते नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।











