हरिवंशमा केन्द्रीत ‘भूठान’

फिल्म । हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक गरिएको छ । ‘भूठान’ शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।

एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले चलचित्रमा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ । अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन् ।

खुला समाजले दिएको स्वतन्त्रता र त्यसले परिवारमा ल्याएको तनाव सो दृश्यले देखाउन खोजेको छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन् जसले सिनेमा अन्तराष्ट्रियस्तरमै बनेको देखिन्छ। टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ, जसले फिल्मको कथावस्तु अत्यन्त गम्भीर रहेको र अभिनेता आचार्यले अभूतपूर्व अभिनय र भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ ।

निर्देशक विनोद पौडेलले नेपालका कलाकार र हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नलाई लिएर तयार गरेको चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन,विमल सुवेदी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ ।

कमेन्ट गर्नुहोस्